काठमाडौं : शंखमूल निवासी ताद्रीबाबा बज्राचार्यको जीवनभरको कमाइ जम्माजम्मी १ करोड ३३ लाख रुपियाँ सहकारीको खातामा छ। तर, ५ लाख रकमको अभावमा ब्रेन ह्यामरेज भएका उनका श्रीमान् उपचार नपाई मृत्युवरण गर्न बाध्य भए।
७२ वर्षीय श्रीमान् राजेन्द्र स्थापितको उपचारका लागि अनेक हारगुहार र रोईकराई गरे पनि सहकारी सञ्चालकले पैसा नदिएको पीडाले गर्दा उनी घर जान सक्ने स्थिति छैन। ६६ वर्षीया बज्राचार्यलाई यति गहिरो पीडा थियो कि श्रीमान्को दाहसंस्कार गरेकै दिन उनी महानगरीय प्रहरी वृत्त जनसेवामा गई न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी सञ्चालक किसन राईविरुद्ध जाहेरी दिएका थिए।
त्यहाँबाट फर्केलगत्तै रत्नपार्कस्थित शान्तिवाटिकामा श्रीमान्को शवको बाकससमेत साथमा राखेर उनी किरिया बसिरहेका छन्। आफ्नो जीवन बर्बाद पार्ने र श्रीमान्लाई मृत्युको सम्मुख धकेल्ने सहकारीलाई सजाय दिएर छाड्ने उनको अठोट रहेको छ। २०७४ सालमा नेपाल बैंक लिमिटेडबाट अवकाश पाउने बेला पाएको उपदान र अन्य विविध स्रोतको सम्पत्ति गरी उनले जम्मा १ करोड ३३ लाख रुपियाँ सहकारीमा राखेका थिए । शुरूमा ब्याजबापत ३८ हजार रुपियाँ पाएदेखि उनले अहिलेसम्म साँवा र ब्याज गरी एक पैसा पनि पाएका छैनन्।
पैसा लिन उनी श्रीमान्सँगै त कहिले एक्लै गरी सयौंपटक सहकारीमा धाइसकेका थिए तर, जीवनको उत्तरार्धमा उनले आफ्नै पैसासमेत निकाल्न पाएका छैनन् । सहकारीले उपचार गर्ने न्यूनतम रकमसमेत उपलब्ध नगराउँदा उनको ज्यान गएको परिवारजनको भनाइ छ ।
अचानक बेहोस भएपछि उनलाई श्रीमतीले गएको बुधबार वीर अस्पताल लिएर गएका थिए । अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनको ब्रेन ह्यामरेज भएको खुलेको थियो । त्यसलगत्तै अस्पतालले उनलाई आईसीयूमा भर्ना गरेको थियो । तुरुन्तै अप्रेसन गर्नुपर्ने भन्दै चिकित्सकले उहाँकी श्रीमतीलाई रकम जम्मा गर्न भनेका थिए तर, उहाँले भर्ना गरेको चार दिनसम्म पनि रकम जम्मा गर्न सकेनन ।
पतिलाई अस्पताल भर्ना गरेर श्रीमती न्युरोडस्थित सहकारीको कार्यालय पुगेका थिए । उनले सहकारी सञ्चालक किसन राईसँग ५ लाख रुपियाँ मागेका थिए। तर, राईले रकम दिएनन्।
‘सहकारी पीडितका अभियन्ताहरूको सहयोग लिएर सहकारी सञ्चालक राईलाई अस्पतालमा पनि बोलाएँ, दश मिनेटमै ५ लाख रुपियाँ लिएर आउँछु भनेर गएको मान्छे पछि फर्किएर आएन’, सहकारी पीडितका अगुवा कुसलभ केसीले भने– ‘त्यो सहकारी अहिले बन्द अवस्थामा छ। मान्छे भने आवतजावत गरिरहेको देखिन्छ। हामीले कति मिहिनेत गरेर खोजेर ल्याएका सञ्चालकमा पनि रत्तिभर संवेदना देखिएन। कति निर्दयी सञ्चालक’ –सहकारी पीडितका अगुवा केसीले भने। ‘अपरेसन गर्न पाएको भए स्थापितलाई बचाउन सकिन्थ्यो । तर, पैसाको जोहो गर्न नसक्दा अप्रेसन नै गर्न पाइएन। यसमा सहकारीसँगै चिकित्सक पनि दोषी छन्’ –उनले भने ।
सरकारले न्याय नदिलाएसम्म संघर्ष गरिरहने श्रीमती बज्राचार्यको भनाइ रहेको छ। ‘म मर्नु र बाँच्नु ठूलो कुरो रहेन । सहकारीलाई सरकारले कारबाही गरोस्’ –उनले भने।





