काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यमहरूले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन। महामन्त्री थापाले सञ्चार माध्यमहरूले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे । आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेन्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे। महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए ।
उनले राजनीतिक भन्दा फरक विषयको खोजी गर्न सके सञ्चार माध्यमहरूको बजार थप हुने दाबी समेत गरे। महामन्त्री थापाले सञ्चार माध्यमहरूले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने धारणा राखे ।





