सिन्धुपाल्चोकमा ढुंगाखानी चलाउन खोजे ‘लाइफ ड्यामेज’ बनाई दिन्छु : मोहन बस्नेत

२०८१ भाद्र ६, बिहीबार

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अवैध ढुंगाखानी सञ्चालन गर्नेहरूले तत्काल काम नरोके ‘लाइफ ड्यामेज’ बनाई दिने चेतावनी दिएका छन् ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बस्नेतले जिल्लामा अवैध रुपमा ढुंगाखानी सञ्चालन जारी रहेको भन्दै यस्तो चेतावनी दिएका हुन् । उनले ढुंगाखानीको कारण पहिरो गइरहेकाले यसलाई रोक्नुपर्ने पनि बताए । ‘ढुंगाखानीको कारण पहिरो गइरहेको छ । अहिले पनि म ढुंगा खानी सञ्चालन रोक्न खोज्छु अरु साथीहरू चलाउन खोज्छन्,’ बस्नेतले भने, ‘अब म अरु केही भन्दिनँ । अब आइन्दा ढुंगा खानी पुलिस, प्रशासन, नेताले ढुंगाखानी चलाउने कुरा पास गर्ने काम नगर्नुहोला गर्न थाले म कारबाही गर्छु । लाइफ ड्यामेज गर्छु अब ।’

उनले स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको मिलिमतोमै ढुंगाखानी उत्खनन् हुने र बाढी पहिरोको जोखिम बढिरहने भएको पनि बताए । त्यस्तै बस्नेतले आफू मन्त्री हुँदा जिल्लामा धेरै आयोजना र बजेट पारेको बताए । उनले भने, ‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन । म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’

बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार