म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ को तोरीपानीकी मीना परियार हत्या प्रकरणका आरोपी राम खत्री विवाहित भएको खुलेको छ।
प्रहरीका अनुसार २५ वर्षीय राम दुई सन्तानका बाबु हुन्। आफू विवाहित भए पनि मीनासँग कुराकानी हुने गरेको उनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्। तर हत्याबारे भने मुख नखोलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
‘उनीहरूबीच शारीरिक सम्बन्ध भएकोसम्म खुलेको छ, त्यसबाहेक आरोपितले केही भनेका छैनन्,’ रायमाझीले भने, ‘प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।’ मीनाको शव फेला परेसँगै घटनाले नयाँ मोड लिएको प्रहरीले बताएको छ। १८ वर्षीया मीनाको शव साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो। चिकित्सकले मीनाको हत्या भएको र गर्भ रहेको बताएको छ।
सोही गाउँको स्थानीय गँगटो खोज्ने क्रममा मानिसको टाउको जस्तो देखिएको खबर प्राप्त गरेसँगै प्रहरी घटनास्थलमा पुगेको थियो। खोजतलास गर्ने क्रममा कंकाल फेला पर्यो। मीनाले लगाएको चप्पल, लुगा र सुनको सिक्रीको आधारमा परिवारले कंकाल उनकै हो भनेर पहिचान गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए।