मोरङ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि आफू नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन् ।
मोरङको ग्रामथानस्थित नेताचौकमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि आफ्नो सरकार ढलेको प्रचण्डको आरोप लगाएका हुन् । ‘प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डमा धमाधम कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले अत्तालिएर सरकार परिवर्तन गरे,’ उनले भने ।
आफू सरकारबाट बहिर्गमन हुँदा पनि विजेताको भावमा जनतामा आएको पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको दाबी थियो । उनले सरकारमा रहनेहरूको भने डरले गएको सातो अझै नफर्किएको टिप्पणी गरे । साथै उनले अहिलेको सत्ता समीकरणलाई ‘तथाकथित गठबन्धन’ को आरोप लगाए । अहिले माओवादीमा जनताको समर्थन बढ्दै गएको दाबी गर्दै प्रचण्डले ८४ को निर्वाचनमा पार्टीलाई ६४ सालको अवस्थामा पुर्याउने बाचा गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूका विरुद्धमा काम गरेकाले माओवादी ठूलो पार्टी बन्नै पर्नेमा उनले जोड दिए ।
अहिलेको सरकार भ्रष्टाचारको भयबाट बनेको आरोप लगाउँदै उनले छुट्याइएको बजेट पनि दुरूपयोग हुनसक्ने आशंका व्यक्त गरे । दुई–तिहाइको सरकार छ भनेर दम्भ देखाएमा बंगलादेश हेर्दा हुन्छ भनेर पहिला आफूले भनेको स्मरण गर्दै उनले शतप्रतिशत मत ल्याएका सद्दाम हुसेनको उदाहरण हेर्न पनि कांग्रेस र एमालेलाई सुझाव दिए ।
बंगलादेशको विषयमा आफूले भनेको कुरालाई बंग्याएर भ्रम फिँजाउन खोजेको उनले आरोप लगाए । ‘सरकारले जनता र राष्ट्रका विरुद्ध भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने छन्,’ उनले भने । सरकारमा बस्नेहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजे उनीहरूले ठूलो मूल्य चुकाउने बताउँदै प्रचण्डले त्यसो नगर्न आफूले सुझाव दिएको बताए । सो अवसरमा उनले ग्रामथानमा हुन लागेको उपनिर्वाचनमा माओवादीलाई जिताउन आग्रह पनि गरे ।
अध्यक्ष प्रचण्डले आफूलाई जीवनको उत्तरार्धमा अझै बढी जोश आउन थालेको बताएका छन् । ‘अहिले म जीवनको उत्तरार्धतिर छु । तर किन हो अलि बढी जोश आउन लागेको छ । मलाई साथीहरूले किन यति धेरै दौडिएको भन्नु हुन्छ । मलाई जोश आएकै छ,’ प्रचण्डको भनाइ छ । उनले सुशासन र जनताको पक्षमा जीवनको अन्तिम क्षणसम्म लडिराख्ने कसम आफूले खाएको पनि बताए ।