काठमाडौं । सरकारले बिहीबारदेखि दशैँतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तगर्तको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँतिहार लक्षित सुपथ मूल्य पसल थापाथलीस्थित बिक्री केन्द्रबाट उद्घाटन गरिने र असोज ७ गतेभित्र देशैभरि सञ्चालन गरिने जनाएको छ ।
कम्पनीकी सूचना अधिकारी शर्मिला अधिकारी सुवेदीका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार थापाथलीबाट सुपथ मूल्य पसलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसपटक खाद्य कम्पनीले उपत्यकाका चारवटा स्थानसहित उपत्यकाबाहिर ५९ गरी कुल ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।
गत वर्ष काठमाडौं उपत्यकासहित देशभर ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । कम्पनीले दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल, चिनीसँगै कर्णालीको रैथाने बाली चिनो, कागुनो, उवा, फापरसमेत उपलब्ध गराउने भएको छ ।
यसअघि सामान्य दैनिक उपभोग्य वस्तु खाद्यान्नमात्र उपलब्ध गराएकोमा यसपटक कर्णालीको रैथाने बालीलाई विशेष प्राथमिकता दिइएको सूचना अधिकारी सुवेदीले बताएका छन् । सुपथ मूल्य पसलमा उपलब्ध हुने खाद्य तथा उपभोग्य वस्तुमा प्रतिकेजी पाँचदेखि १० रुपैयाँसम्म छुट हुने बताइएको छ ।