काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आफू छिट्टै नेपाल फर्किने तयारीमा रहेको समेत बताएका छन्।
काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने तयारी गरेका हुन्। स्रोतका अनुसार यसअघि असोज १४ गते स्वदेश फर्किने मिति तय भए पनि प्रधानमन्त्री ओलीको केही कार्यक्रम र भेटघाट थपिएका थिए। ‘अमेरिका भ्रमणका दौरान उनको केही कार्यक्रम र उच्चस्तरीय भेटघाट थपिएको थियो। तर, नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीज्यु कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारी गर्नुभएको हो,’ स्रोतले भन्यो।
लगतारको वर्षाले काठमाडौं उपत्यकालगायत देशभरि जनजीवन प्रभावित बनाएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन्। बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री ओलीले अमेरिकाबाटै सम्बन्धित निकायलाई उद्धारमा खट्न निर्देशन दिएका थिए।





