काठमाडौं : गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविसँग भटाभट बयान लिने काम भइरहेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि रविलाई ९० दिनसम्म हिरासतमा राख्ने तयारी प्रहरीको छ ।
उनको विभिन्न बैंक खाताको स्टेटमेन्ट, सम्पत्तिको विवरण, आम्दानीअनुसार सरकारलाई कर तिरेको विवरणलगायत धेरै कागजात जुटाउनुपर्ने देखिएको भन्दै प्रहरीले पछिल्लोपटक २५ दिनको म्याद मागको थियो । तर, अदालतले १० दिनमात्रै दियो । म्याद बिस्तारै लम्ब्याउँदै जाने तयारी प्रहरीको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा बुझाउन पाउँछ ।
रविले आफ्नो परिवार वा नातागोताका नाममा राखेको सम्पत्ति समेत खोतल्ने प्रहरी तयारी छ ।





