दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक : एमाले

२०८१ कार्तिक २४, शनिबार

काठमाडौँ : नेकपा एमालेले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो ।

बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए ।

‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ ज्ञवालीले भने, ‘अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’

उनले बैठकले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अधिकतम उपलब्धिमुलक बनाउन शुभकामना दिएको बताए ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ भने सत्तारुढ दलहरूबीच थप विश्वासको बातावरण बनाउँदै अघि बढ्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै, आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, बैठकले कोशी प्रदेशका सांसद लिलामणि अधिकारीलाई प्रदेश कमिटीले संगठित सदस्यबाट निलम्बन गरेको निर्णय अनुमोदन गर्दै उनीमाथि लागेको आरोपबारे वस्तुनिष्ठ, तथ्यपरक र गम्भीर छानविन हुनुपर्ने माग गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार