काठमाडौं : नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दिएको रिटको सुनुवाई सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो। उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ।
यसअघि कात्तिक ८ गते पनि सुवेदीकै इजलासमा परेको थियो। त्यतिबेला पनि हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो। कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त इजलासले दुबै पक्षको बहस/छलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि एमाले कार्यालय बनाउन दिएको १० रोपनी जग्गा दानको हक हस्तान्तरण नगर्न/ नगराउन आदेश दिएको थियो। इजलासले कात्तिक २६ गतेका लागि पेशी तोकेको थियो। अर्को इजलासले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने विषयमा टुंगो लगाउनेछ।





