काठमाडौं : युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पुगेको छ ।
भैंसेपाटी प्रहरी प्रभागमा रहँदा हनी ट्र्यापसँग मिलेर करिब ३० लाख रुपियाँ लिएको आरोप लागेकी प्रहरी निरीक्षक शाहीको प्रमुख भूमिका देखेपछि मुद्दा चलाउनुपर्ने रायसहित मुद्दा दर्ता गर्ने तयारीमा छ । ठूलाठूला अनुसन्धानमा आरोपितलाई सजिलै पक्राउ गर्न सक्ने प्रहरीले फरार सूचीमा रहेकी शाहीलाई हालसम्म पक्राउ गर्न नसक्नु अपत्यारिलो भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले नेपाल प्रहरीले खोजी गर्दा फेला नपरेको जानकारी दिए । सूक्ष्म अध्ययन गरेर अधिकांश आरोपितलाई पक्रन सफल भएको सीआईबीले फरार प्रहरीलाई पक्राउ गर्न नसक्नुको कारणबारे जानकारी लिँदा प्रवक्ता एसपी बोगटीले भने– ‘उहाँ पनि प्रहरी नै हुनुभयो, कहाँ बस्दा पक्राउ गर्न सकिँदैन भन्ने ज्ञान भएकाले हालसम्म पक्राउ गर्न कठिन भएको हो ।’
उनका अनुसार शाहीलाई पक्राउ गर्न सबै प्रहरी युनिटमा खबर भइसकेको बताए । प्रहरी निरीक्षक शाही प्रहरीलाई नै चक्मा दिएर फरार भएकी छन् । मुद्दा दर्ता भएपछि अदालतमा हाजिर हुन आउने सम्भावना रहेको स्रोतको भनाइ छ । सीआईबीले प्रहरी निरीक्षक शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको जनाएको छ । सीआईबीले आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।





