काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले र कांग्रेसको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउन कसैले कोशिस नगरे हुने बताएका छन् ।
एमाले र कांग्रेसको वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्दै उनले गठबन्धनभित्र र बाहिरबाट भत्काउने कोशिस भइरहेको बताए । रुपन्देही उद्योग संघको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुन सक्ने बताए ।
उनले विगतको अनुभव काम नलाग्ने बताउँदै वर्तमान सत्ता गठबन्धनको सरकार २०८४ सम्म नै कायम रहने बताए । ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरूलाई आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईंले सोध्नु हुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, कांग्रेस–एमालेबीचको समीकरण २०८४ मा हुने निर्वाचन नहुञ्जेलसम्म जारी रहन्छ ।’
पौडेलले थपे, ‘कोही कसैले कहीँ पर्दाभित्र र पर्दा बाहिर कसैले कुनै कोशिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोशिस हो ।’ निजी क्षेत्रले खोजेको नीतिगत स्थिरता वर्तमान सरकारबाट मिल्ने पौडेलको भनाइ थियो । ‘तपाईंहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ ।
यो सरकारको लाभ लिने हिसाबले तपाईंहरू अघि बढ्नूस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।





