सिराहा : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको वर्तमान सरकार भ्रष्टहरूको संरक्षण गर्दागर्दै चल्न नसक्ने अवस्थामा पुगेर आफैँ संकटग्रस्त भएको बताएका छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सोमबार बिहान सिराहाको गोलबजार नगरपालिका– ३ मुसहर्नियामा माओवादी केन्द्र गोलबजार नगर समितिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै दुई ठुला दलको गठबन्धन सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्ने र विकासको गतिलाई रोक्ने कार्यमा उद्यत् रहेको आरोप लगाए ।
‘त्यसको पछिल्लो उदाहरण कोशी प्रदेशका एकजना मन्त्री हुन्,’ उनले भने, ‘युवाहरूलाई लिएर तिनकै खर्चमा जापान जाने, कानुनी कारबाही चाहिँ मन्त्रीसँगै गएका युवाहरूले मात्र भोग्नुपर्ने ?’ यसले सरकारको स्वेच्छाचारिता छरपस्ट भएको उनले बताए ।





