बिष्फोटपछि भवन भत्किँदा एकको मृत्यु, चार घाइते

२०८१ मंसिर २३, आईतवार

नेदरल्याण्ड : नेदरल्याण्डको प्रसिद्ध शहर ‘द हेग’ मा स्थानीय समय अनुसार शनिबार बिहानै विष्फोटपछि भएको आगलागीमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य धेरै व्यक्ति फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य शुरू भएको छ । द हेग शहरका नगर प्रमुखले विस्फोट र आगलागीका कारण भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको बताएका हुन् । नगर प्रमुख यान भान जानेनले भने, “भग्नावशेषबाट एक जनाको शव निकालिएका छ ।” हेगस्थित तीन तले आवासीय भवनको एउटा भाग भत्किएको र भग्नावशेषमा खोजी कुकुरसहित उद्धारकर्मीहरूले उद्धारका लागि काम गरिरहेका छन् ।

विस्फोटको कारण तत्काल स्पष्ट नभए पनि विस्फोटभएको केही समयपछि नै घटनास्थलबाट तीव्र गतिमा आउँदै गरेको कारबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ । घटनामा कम्तीमा पाँच वटा घरमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् तर कति घर भग्नावशेषमा फसेका हुन् समाचार तयार पार्दासम्म पुष्टि हुन सकेको छैन । आपतकालीन सेवाहरूले भवन भत्किएपछि चार जनालाई अस्पताल पुर्याएको थियो ।

अग्निनियन्त्रकहरूले आगो निभाएपछि भारी निर्माण उपकरणहरू भग्नावशेष सफा गर्न घटनास्थलमा खटिएका छन् । स्थानीय १४ वर्षीय एडम मुलरले घटनाबारे एएफपीसँग भने, “म सुतिरहेको थिएँ । अचानक ठूलो विस्फोट भयो । मैले झ्यालबाट बाहिर हेरेँ र आगोको ज्वाला देखेँ ।विष्फोटले हाम्रो घरमा पनि ठूलो झट्का दिएको थियो ।” घटनापछि स्थानीय अधिकारीहरूले घटनास्थल वरपरका घरका झ्याल र ढोका बन्द गरी घरभित्र नै सुरक्षित बस्न आग्रह गरेका छन् ।

घटनास्थलमा अनुसन्धान अधिकारीहरू पुगी घटनाबारे जानकारी लिएका छन् । प्रहरीले घटनास्थलबाट भागिरहेको कारलाई देखेको भनेका व्यक्तिसँग भेट्ने र नजिकका सिसिटिभी क्यामराको रेकर्डलाई हेर्ने काम गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार