काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरुको विपक्षमा रहेको आरोप लगाए । तर सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरुले बाध्य पार्ने दाबी समेत उनले गरे ।
श्रमिकहरुको वास्तविक पार्टी एकीकृत समाजवादी भएको जिकिर गर्दै उनले संसद र सडकबाट दबाब दिएर सरकारलाई श्रमिकतिर झुकाएरै छाड्ने बताए । ‘दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहरुको पक्षमा बनेको सरकारलाई कुनैपनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ,’ उनले भने ।
श्रमिकहरुले आफ्नो हक अधिकार प्राप्त गर्न दबाबमुलक आन्दोलन गर्नुपर्ने बताउँदै उनले सो आन्दोलनलाई बल पुग्ने गरी संसदबाट आफूहरुले साथ दिने बताए ।





