काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट हुँदा प्रहरी रमिता हरेर बसेको बताएका छन्।
आइतबार सर्वोच्च अदालत बार एसोसिएसनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्न आयोजित विरोध कार्यक्रममा बोल्दै उनले प्रहरीबाट धेरै ढिला प्रतिक्रिया आएको बताए। उनले भने, “प्रहरीले सुरुमा रमिता मात्रै हेरेर बस्यो। प्रतिक्रिया दिन धेरै ढिला गर्यो। अहिले पनि अनुसन्धान तीव्र हुनुपर्ने हो, तर त्यसमा कुनै गति देखिएको छैन।”
त्रिपाठीले कर्तव्यपालनको क्रममा कानून व्यवसायीमाथि आक्रमण हुनु न्यायिक प्रक्रियामाथिको गम्भीर चुनौती भएको बताए। “न्यायको पवित्रतामाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन,” उनले भने।
त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा सहकारी ठगी प्रकरणको बहसपछि बाहिर निस्किने क्रममा आक्रमण भएको थियो।





