माओवादी नेताहरूको पूर्वराजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक : राप्रपा प्रवक्ता श्रेष्ठ

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले असन्तुष्टि प्रकट गरेका हुन्।

उनले प्रचण्ड, बाबुरामलगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरूको राजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक भएको बताए। विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने जमातले राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद भएको बताए।

उनले लेखेका छन्, ‘प्रचण्ड, बाबुराम लगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरुको राजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक छ। विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने, योजनाबद्ध रूपमा देशका लाखौं युवा लखेट्ने लगायतका विध्वंशकारी मार्गचित्र बोकेका भ्रष्ट जमातहरूले रक्तपातविहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद छ।’

उनले राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरूले उहिल्यै गुमाइसकेका भन्दै नक्कली क्रान्तिकारिता अब नचल्ने पनि जिकिर गरे। ‘यो ०६२/६३ साल होइन ०८१/८२ हो। बितेका २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र तीव्र भ्रष्टीकरणका कारण माओवादी क्रान्तिकारिता खिया लागेर भुत्ते भइसकेका छन्,’ उनले लेखेका छन्, ‘त्यसैपनि राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरूले उहिल्यै गुमाइसकेका छन्। नक्कली क्रान्तिकारिता अब चल्दैन, बिक्दैन र जनताले पत्याउँदैनन् है।’

हरेक नेपालीलाई देशको दुरावस्थाबारे चिन्ता गर्ने, बोल्ने हक भएकाले राजालाई पनि यसको अधिकार छ भन्दै प्रवक्ता श्रेष्ठले राजा एक्लो नभएको कुरा कसैले नबिर्सन चेतावनी समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार