एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु उत्पादन

२०८१ चैत्र ३, आईतवार

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्। उन्नत जातको आलु खेती गरेर उनले थोरै जग्गामा धेरै उत्पादन लिएका हुन्। पहिलो पटक ‘कोमल कार्प’ नामक जातको आलु खेती गरेका उनले थोरै क्षेत्रफलमा यति धेरै आलु फलेको देखेर आफैं दङ्ग परेका छन्।

“आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ,” चौधरीले भने, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, सोचेजस्तै फलेछ।” पाँच रुपैयाँ प्रतिदानाको दरले आठ किलो आलु बारीमा रोपेपछि त्यसबाट १२ क्विन्टल उत्पादन भएको उनले बताए।

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलुलाई उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना बनाएका छन्। उत्पादित आलुका दाना आधादेखि दुई किलोसम्मका छन्। यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो दाना लाग्ने र खानमा स्वादिलो हुने उनले बताए। मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनिएको उनको भनाइ छ।

जिल्लामा शीतभण्डारगृह नहुँदा चौधरीले बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन्। “घरमै राख्दा कुहिएर बिग्रन्छ,” उनले भने, “शीतभण्डारमा राख्नुपर्छ, तर जिल्लाको एकमात्र निजी शीतभण्डारगृह बन्द भएकाले बाहिर लैजानुपर्ने बाध्यता छ।”

तीन दशकदेखि व्यावसायिक आलु खेतीमा संलग्न चौधरीले यो अवधिमा एघार प्रजातिका आलु खेती गरेर हेरेका छन्। यति धेरै फल्ने आलुको भने पहिलो पटक खेती गरेको उनले बताए। अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ। उनले हरेक वर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलु खेती गर्छन् र दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्छन्। आलु खेतीको स्याहारमा उनको पूरै परिवार खटिन्छ। रासायनिक मल कम र गोबर मल बढी प्रयोग गर्दा उत्पादन धेरै हुने उनको अनुभव छ।

लामो समयदेखि आलु उत्पादनमा संलग्न भए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्दा कहिलेकाहीँ लागत पनि नउठ्ने उनले बताए। किसानलाई मर्का नपर्ने गरी सरकारले धान, गहुँजस्तै आलुको पनि मूल्य निर्धारण गर्नुपर्ने उनको माग छ।

उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा उनी तीन पटक पुरस्कृत भइसकेका छन्। पूर्वनगर प्रमुख दीलबहादुर ऐरले किसानले उत्पादन गरेको आलु र तरकारी भण्डारणका लागि शीतभण्डारको व्यवस्था गर्नुपर्ने र बजारमा सहज रूपमा बेच्ने वातावरण बनाउन स्थानीय तहले काम गर्नुपर्ने बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार