भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले ‘राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरेका छन्।
यस्तै गुण्डा नाइके विगतमा धरानमा रहेको उल्लेख गर्दै गुरूङले व्यवसायीहरू त्यसबेला धरान छाडेर विराटनगर पलायन हुन पुगेको स्मरण पनि गरे। प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङले बताए।
प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको थियो। प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र लुटपाट गरेका थिए। सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँको क्षति पुगेको थियो।
लुटपाट गर्न आएकाहरूलाई भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले प्रतिकार गरेका थिए। उनलाई भाटभटेनीले ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरिदिएको छ। सुरक्षा गार्डलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरूङले चैत १५ गते भाटभटेनीमा ढुंगा प्रहार र लुटपाट भएको बताए। राज्यले सुरक्षा दिन नसकेको पनि उनको भनाइ थियो।
‘एउटा गुन्डा नाइके, म भन्छु- दुर्गा प्रसाईं गुण्डा नाइके हो, गुण्डाकै नाइके हो त्यो,’ गुरूङले भने, ‘उसको चलन, क्रियाले राजसंस्था फर्कदैन, म ठोकुवा गरेर भन्छु, भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ? नेपालको संविधान मेटिन्छ? हामी बुझ्दैनौं?’ यस्तै प्रवृत्तिले गर्दा व्यवसायीहरूले देश छाड्ने अवस्था बनेको उनले बताए।





