काठमाडौँ : मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो वर्ष २०८१ को अन्तिम दिन चैत ३१ गते बजार घटेर बन्द भएको थियो ।
लामो समयदेखि नेप्से परिसूचक २५ सयदेखि २८ सयको दायरा वरपर घुमिरहेको भए पनि वर्ष फेरिएसँगै बजारले तीव्रता लिनेमा लगानीकर्ताहरूको विश्वास बढेको देखिएको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि वृद्धि हुनुले निकै सकारात्मक संकेत दिएका जानकाहरुको भनाई छ । विगत केही समय नेप्से सूचकमा मसान्तको दबाब परेपछि सुस्त बनेको थियो। यद्दपि, अहिले उक्त दबाब कम भएसँगै नेप्सेमा वृद्धि देखिएको हो ।
मसान्तको असर बाहेक तत्काल सेयर बजारलाई नकारात्मक असर पुर्याउने ठूला कारणहरु खासै देखिएका थिएनन् । सेयर बजारलाई बढी प्रभाव पार्ने ब्याजदर र वृहत अर्थतन्त्रका सूचकहरु सबै सकारात्मक नै छन् । बैंकहरुमा अधिक तरलताको स्थिति रहेको छ भने ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । यसको सकारात्मक प्रभाव बजारमा पर्ने देखिन्छ । अब लगानीकर्ताको पर्खाइको विषय सूचीकृत कम्पनीहरुको वित्तीय विवरण र नयाँ गभर्नर नियुक्ति देखिन्छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।





