राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट एक खर्ब खिच्दै

२०८३ श्रावण ६, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ । बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ ।

समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार