भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रूपमा पछाडि धकेल्ने बताएका छन्।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाले १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार आयोजना गरेको प्रवचन कार्यक्रम उनले देशलाई पछाडि पार्ने काम कसैले गर्न नहुने बताए । जनतालाई प्रत्येक्ष रूप सेवा दिने कर्मचारीमा देशभक्तिको भावना भए कुनै समस्या नआउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
“युवाहरू घरखेत बेचेर विदेश गइरहेका छन् । यसरी जानुभन्दा देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ, राज्यले चासो दिनुपर्छ । यसका साथै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुर एक हुन जरूरी छ”, उनले भने ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा मजदुरको जीवनको कुनै मूल्य नहुने भन्दै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताए ।





