प्रहरीमा वरिष्ठ सईको तलमान समायोजन गर्ने निर्णय

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौँ : सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलबमान र ग्रेड समायोजन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको हो । प्रहरीभित्र कामकाजी जुनियर अधिकृतका रुपमा रहेका सईबाट वरिष्ठ सई भएकाहरूको तलब समायोजन नहुँदा अप्ठेरोमा थिए ।

सरकारले कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवामा ‘जाम’ भएको एक तहबाट अर्को तहसम्म बढुवा हुन लामो समय लाग्ने भएको ०७८ मा प्रहरी नियमावली संशोधन गरी सई र इन्स्पेक्टरबिच वरिष्ठ सई पद थपेको थियो । त्यति बेला तलब भने समायोजन नहुँदा उनीहरुले सई हुँदा नै खाइ पाइ आएको तलबभन्दा कम थियो ।

बुधबार बसेको मन्त्रिपरिषद्को यो निर्णयसँगै उनीहरूको तलब बढ्ने भएको छ । ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने,’ बुधबारको मन्त्रिपरिषद् निर्णयमा भनिएको छ । ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वोच्च अदालतले परमादेश दिएको थियो । त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ ।

तह र फुली बढ्दा पनि वरिष्ठ सईहरूको तलब घटेको थियो । बढुवा हुँदा उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो । वरिष्ठ सईको एक हजार चार सय १८ जनाको दरबन्दी छ । बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो । बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ । मन्त्रिपरिषद्को बैठकपछि उनीहरुले तीन वर्षकै तलब पाउनेछन् ।

गत साउनमा न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले यससम्बन्धी परमादेश दिएको थियो । वरिष्ठ सईको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार सात सय ३२ पाउने गरेका छन् ।

तर, सईको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ । वरिष्ठ सईले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको थियो । यो निर्णयसँग अब उनीहरूको तलबमान सईको भन्दा बढी हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार