विद्युतको नियमित आपूर्ति र ग्राहकको गुनासो सम्बोधन गर्ने अभियान कोशीबाट थालेका छौँ : हितेन्द्रदेव शाक्य

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिमा देखिएका समस्या समाधानको लागि गुनासो सुन्ने अभियानको थालनी गरेको छ । विद्युत् प्राधिकरणबाट सरकारले कुलमान घिसिङलाई हटाएसँगै लोडसेडिङ हुने हल्ला भइरहेको अवस्थामा प्राधिकरणले यस्तो अभियानको थालनी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ विद्युत् आपूर्तिमा देखिएका समस्याका विषयमा सरोकारवालाहरूको गुनासा र प्राविधिक समस्याहरूको जानकारी लिने र समस्याको पहिचान गरी समाधान गर्ने अभियानमा लागेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्तिका लागि भएका समस्या र गुनासो सुनी समाधान गर्ने अभियानको सुरुवात कोशी प्रदेशबाट सुरु गरिएको जानकारी दिए । उनले बिहीबार कोशी प्रदेशको विराटनगरका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी वरिपरिका सब–स्टेसन र वितरण केन्द्रको अनुगमन गरेको बताए ।

उनले शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरी हल्लालाई काम गरेर देखाउनको लागि अभियानकै रूपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान गर्न निस्किएको बताए ।

उनले भने, ‘प्राधिकरणको प्रमुख प्राथमिकता विश्वसनीय विद्युत् आपूर्तिमा हो । त्यसैले कोशी प्रदेशका सरोकारवालाहरूसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनीयता, नियमित विद्युत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ ।’

कार्यकारी निर्देशक शाक्यले उपभोक्ताहरूको गुनासो सम्बोधन गरी नियमित र विश्वसनीय विद्युत् आपूर्तिमा प्राधिकरण प्रतिबद्ध रहेको बताए । उनले कोशी प्रदेशमा विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति गर्ने निर्देशन दिएको बताए ।

उनले अब वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका स्थानहरूमा समेत अभियानलाई निरन्तरता दिने बताए । शाक्यले भने, ‘हामीले बुझेको समस्या एक खालको हुन्छ । उद्योगी र उपभोक्ताहरूका समस्या र गुनासा हामीले बुझेको भन्दा फरक पनि हुन सक्छन् । त्यसैले हामी उहाँहरूका पनि समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ ।’

शाक्यले प्राधिकरणको अभियान छलफल मात्रै नभई समाधानको खोजी पनि भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार