कांग्रेस राजावादी थियो, राजसंस्था नै राजावादी नहुँदा गणतन्त्रमा गयौँ : गगन थापा

२०८२ जेष्ठ १७, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै समय नेपाली कांग्रेस राजावादी रहेको स्वीकार गर्दै नेपालको राजसंस्था राजावादी नभएकाले गणतन्त्रमा जानुपरेको बताएका छन्। शनिवार ‘गणतन्त्र नै सही बाटो’ विषयक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘म नेपाली कांग्रेसमा विद्यार्थी राजनीतिमा छँदा हामीहरू नेपालमा बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था छ, यसैबाट अघि बढ्नुपर्छ भन्ने कुरालाई खाली यो रणनैतिक कुरा मात्र होइन विश्वासका साथ मान्दै आएको राजनीतिक दल थियौँ,’ महामन्त्री थापाले भने, ‘त्यसबाट प्रशिक्षित भएर आएका मान्छे थियौँ।’

तर नेपालको राजसंस्था नै राजावादी नहुँदा गणतन्त्रमा जानुपरेको बताए। उनले भने, ‘नेपाली कांग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन। नेपालको राजसंस्था चाहिँ राजतन्त्रवादी भयो।’

नेपालको राजसंस्थालाई कसैले र कहिल्यै पनि संवैधानिक बनाउन नसक्ने पनि महामन्त्री थापाले दाबी गरे। ‘नेपालको राजसंस्था राजावादी भएको कारणले गर्दा खेरी न हिजो, न भोलि कसैले पनि कसैले पनि संवैधानिक बनाउनै सक्दैन,’ उनले भने।

त्यस कारण अबको बहस संवैधानिक राजसंस्था, संवैधानिक राजतन्त्र छाड्ने कि गणतन्त्रमा जाने भन्ने नरहेको उनले बताए। उनले भने, ‘अब कसैले यो नचाहिने कुरा गरेर हुँदैन। हाम्रो बहस नेपालमा कि गणतन्त्र रहन्छ, कि राजतन्त्र रहन्छ। कुन छान्ने भन्ने कुरा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार