
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलतलाई गलत भन्न नसक्ने कार्यकर्ता कांग्रेसको नभएको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सो अवसरमा उनले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा रहेको जिकिर गरेका थिए। उनले आउँदो निर्वाचनमा कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले भएको भन्दै अहिले एमाले नेतृत्वको सरकारले गरेका गलत कामको उजागर गर्नुपर्ने बताए।
उनले भने, ‘उसले (एमाले) ले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन्।’ नेता कोइरालाले देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै मध्यमार्गी पार्टीको रूपमा कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने तर्क पनि गरेका छन्।
मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतातिर जाने उनको भनाइ थियो।