
काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको सम्बन्ध अत्यन्तै मजबुत र परिपक्व रहेको बताएका छन्।
उनले दुई नेताबीच फाटो ल्याउन चलाइएको चर्चालाई ‘नियोजित रणनीतिक अफवाह’ को संज्ञा दिँदै यो षड्यन्त्र एमालेलाई कमजोर बनाउने उद्देश्यले रचिएको दाबी गरे। शनिबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले माओवादी केन्द्र, एकीकृत समाजवादी र पार्टीभित्रकै केही असन्तुष्ट नेताहरूले यो अफवाह फैलाइरहेको आरोप लगाए।
‘व्यक्तिगत स्वार्थ, पदको लोभ र ईर्ष्याका कारण यस्ता प्रवृत्तिहरू सक्रिय छन्, जुन पार्टीलाई भित्रैबाट कमजोर बनाउने षड्यन्त्र हो,’ उनले भनेका छन्। पूर्व राष्ट्रपति भण्डारीको पुरानो भनाइ, ‘केपी ओली ज्यूको प्रस्तावबिना राजनीतिमा फर्किने प्रश्नै उठ्दैन,’ लाई उद्धृत गर्दै बस्नेतले दुई नेताबिचको कथित मतभेदको हल्ला झुटो भएको तर्क गरे।
नेता बस्नेतले बालुवाटार जग्गा र लडाकु शिविर घोटालामा फस्ने डरले प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन र एमाले फुटाउन चाहेको दाबी गरे। उनले उनीहरू ‘एमाले फुटाउने र पुनः ‘एकता’ को नाममा एमाले कब्जा गर्ने दाउमा’ रहेको आरोप लगाए।
यसैबीच, उनले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय दलीय राजनीतिमा नफर्किन सुझाव दिएका छन्। ‘सगरमाथा चढिसकेपछि लिपुलेक चढ्न तम्सिनुजस्तो अवस्था राजनीतिक व्यक्तित्वका लागि लाजमर्दो हुनसक्छ,’ उनले भने, ‘बेलैमा सोचेर कदम चाल्नु उचित हुनेछ, नत्र इतिहासले गिजाउनेछ।’