
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ नियमावलीमा संघ सरकारले हस्तक्षेप गरे पनि कार्यान्वयनबाट पछि नहट्ने जिकिर गरेका छन् ।
प्रदेशसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारमाथि हस्तक्षेप भएको देखिएको बताए । ‘प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्यो भन्ने विषयमा मेरो भन्नु केही छैन । एक किसिमबाट हेर्ने हो भने हस्तक्षेप भएको हो,’ उनले भने, ‘हामीले बनाएको नियम, कानुन किन स्थगन गर् भनेको ? ठीक कुरा हो । हस्तक्षेप भएको छ ।’
संविधानले तीन तहको सरकारबीच समन्वय र सहकार्यको व्यवस्था गरेकाले त्यसैअनुसार तत्काललाई संघ सरकारको आग्रह मानेको उनले सुनाए । ‘हाम्रो संविधानले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरिनेछ भनेको छ । त्यसैले केही समयका लागि अर्थात् एक महिनाका लागि संघीय सरकारको आग्रहलाई संविधानको त्यही मर्मअनुसार सहकार्य गरेको हो । तथापि सहकार्य गरेको कदमबाट सरकार पछाडि हट्दैन,’ उनले भने ।
एक महिनापछि राइड सेयरिङ नियमावलीले गरेको व्यवस्थाअनुसार दर्ता, नवीकरण र नियमन अघि बढाइने उनले बताए ।