
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको अवरोध जेठ २८ गतेसम्म कायम राख्नुपर्ने मत राखेका छन् । विपक्षीहरुको बैठकमा सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लचक बनेपछि वाग्लेको यस्तो प्रस्ताव आएको हो ।
हिजो (आइतबार) विपक्षीहरुको बैठकमा वाग्लेले भिजिट भिसा प्रकरण एकदमै सिरियस इस्यु भएकोले यत्तिकै छोड्न नहुने मत राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि सदनको अवरोध खुलाउने विषयमा लचकता प्रदर्शन गरेपछि रास्वपा पँक्ति सशंकित बनेको हो ।
विपक्षीहरुको बैठकमा वाग्लेले कम्तिमा पनि सदनको अवरोध यही जेठ २८ गतेसम्म पुर्याउनुपर्ने प्रस्ताव गरेका थिए । जेठ २८ गते संवैधानिक नियुक्ती (५२) को विरुद्ध परेको रिटमा फैसला आउने भनिएको छ । वाग्लेले यही विषयलाई मध्यनजर गर्दै विपक्षीहरुको सदन अवरोधलाई त्यही मितिसम्म पुर्याउनुपर्ने मत राखेका हुन् ।
हिजो कांग्रेस र विपक्षीहरुबीच सदनको अवरोध हटाउने विषयमा मोटामोटी समझदारी बनेको थियो । प्रचण्डले सहमतिको भाषाको मस्यौदासमेत तयार भएको बताएका थिए । तर, रास्वपा आफ्नो अडानमा कायम रहेपछि हिजो सुचारु हुने भनिएको सदन प्रक्रियामा नगई स्थगित् भएको हो ।