काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।
भट्टराई जैविक विविधता र रैथाने संस्कृति संरक्षणमा नीति निर्माणका लागि पहलकदमी गर्न, बाँसको प्रवर्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका माग राखी साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको विषयमा आयोगले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो।
आयोगले उक्त अनशनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुगमन गरेको थियो। अनुगमनका क्रममा आयोगले अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको छ।
वीर अस्पतालका अनुसार अनशनरत मेयरको स्वास्थ्य अवस्था गम्भीर (रक्तचाप, सुगर र मुटुको धड्कन कम भएको) बन्दै गएको छ। आयोगले जारी गरेको विज्ञपि्तमा उल्लेख छ, ‘भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी उनको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ।’









