काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । सञ्चारकर्मीले आत्मालोचनाबारे सोध्दा प्रचण्डले भने, ‘बैठक चलिरहेको छ । जसले गल्ती गर्यो, उसले आत्मालोचना गर्नुपर्छ ।’
बैठकको पहिलो दिन प्रचण्डले एजेन्डा प्रस्तुत गर्ने क्रममा उपमहासचिव जनार्दन शर्मामाथि आन्तरिक विषय बाहिर ल्याएको आरोप लगाउँदै आत्मालोचना गर्न सचेत गराएका थिए । जवाफमा शर्माले प्रचण्डले नै आत्मालोचना गरेमा आफू पनि त्यसका लागि तयार रहेको बताएका थिए ।





