वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

२०८२ भाद्र १०, मंगलवार

काठमाडौँ : हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्या बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा र झाडापखलाका १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका हुन् ।

शुक्रबार यता ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

झाडापखला र हैजा गरी अझै २२० जना बिरामीहरू विभिन्न अस्पतालहरूमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्सका प्रमुख जयमोद ठाकुरले  जानकारी दिए ।

ठाकुरका अनुसार सबैभन्दा बढी झाडापखला र हैजाका बिरामी नारायणी अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा १०६ जना बिरामी उपचाररत छन् ।

यसैगरी तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २० जना बिरामी उपचाररत छन् ।

यसैगरी सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३, नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामी उपचाररत छन् ।

यसैगरी आशाराम हस्पिटल, वीरगञ्ज न्यूरो एन्ड जनरल हस्पिटल, स्पर्श एमएस हस्पिटल, भवानी हस्पिटल, अलि अर्थ हस्पिटलमा एक/एक जना बिरामी उपचाररत छन् ।

हैजाका नयाँ बिरामी ९५ जना

उपचारपछि अस्पतालबाट हैजा र झाडापखलाका बिरामी डिस्चार्ज हुने क्रम बढे पनि हैजाका नयाँ बिरामी पुष्टि क्रम भने रोकिएको छैन ।

सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म ९५ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए ।

उनका अनुसार नारायणी अस्पताल र तराई अस्पतालमा ३२/३२, नेशनल मेडिकल कलेजमा १३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथालोजीमा ३/३ जना नयाँ हैजाका बिरामी फैला परेका छन् ।

यसैगरी अली अर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा समान २/२ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।

यसैगरी नारायणी सेन्ट्रल हस्पिटल, नेपाल इन्डो हस्पिटल, नीलकण्ठ हस्पिटल, नेपाल मेडिसिटी वयोद्या हस्पिटल र सर्वोत्तम हस्पिटलमा एक/एक जना झाडापखलाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको छ ।

आईसीयूमा २४ र एचडीसीयूमा ६ जना उपचाररत

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार २४ जना बिरामीलाई आईसीयू र ६ जनालाई एचडीसीयूमा राखेर उपचार भइरहेको छ ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९ र तराई हस्पिटलमा ८ जना बिरामीको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

यसैगरी सर्वोत्तम हस्पिटल र नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २/२ तथा नेसनल मेडिकल कलेज, प्रभु हस्पिटल र भवानी हस्पिटलमा एक/एक जना बिरामी आईसीयूमा उपचाररत छन् ।

यसैगरि तराई हस्पिटलमा ४, सर्वोत्तम एमएस हस्पिटल र नेसनल मेडिकल कलेजमा १ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार