काठमाडौँ : एसिया कप क्रिकेट २०२५ को समूह ए अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानलाई हराउँदै दोस्रो जीत दर्ता गरेको हो । टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको विजय लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि ओपनर अभिषेक शर्माले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए । कप्तान सूर्यकुमार यादवले ४७ रनको अविजित पारी खेले । उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । तिलक वर्माले ३१ रन बनाउँदा शुभम दुवे १० रनमा अविजित रहे । पाकिस्तानका लागि शैम अयुबले ३ विकेट लिए।
पाकिस्तानका ओपनर ब्याटर सहीबजादा फरानले सर्वाधिक ४० रन बनाए। उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे । फकर जमानले १७ रन बनाउँदा फहिम अशरफले ११ रन बनाए । साहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे।
भारतका लागि स्पिनर कुलदीव यादवले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चेर तीन विकेट लिए । जसप्रीत बुमराह र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए।





