काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न लागिएको भन्दै मिडिया ट्रायल गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा सत्ताधारीहरू आत्तिएको दाबी गरेका छन् ।
बस्नेतले आफ्नो अन्तिम सास रहुन्जेल देश र राष्ट्रियताको पक्षमा आवाज उठाइरहने बताए । उनले लेखेका छन्, ‘जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिरहेको छ । विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोज्ने दानवीय प्रवृत्तिविरुद्ध मेरो आवाजले सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ। तर, म सधैँ सत्य र राष्ट्रियताको पक्षमा बोलिरहनेछु।’
बस्नेतले जेनजी सरकारको अमानवीय र अलोकतान्त्रिक गतिविधिविरुद्ध नेपाली युवा र एमाले तयार रहेको बताएका छन् । उनले एमाले अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य र सचिवालय बैठकमा आफ्नो भूमिकाप्रति सरकार थरथर काँपेको बताए । ‘यो मेरो दायित्व हो, कसैको ह्यारेसमेन्टले मलाई रोक्न सक्दैन,’ उनले भने ।
राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू सधैँ अडिग रहने बस्नेतको भनाइ छ । उनले सरकारलाई यस्ता कुकर्म बन्द गर्न चेतावनी समेत दिएका छन् ।






