काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर नयाँ मतदाताहरुको नाम दर्ता प्रक्रियामा सहभागी हुन पार्टी जनवर्गीय सङ्गठनका सबै कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा काठमाडौँमा सम्पन्न बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र, संविधान पक्षधर शक्ति र पार्टीहरुबीच संवाद, सहकार्य अघि बढाउने निर्णय गरेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्वालाले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पु¥याउन पार्टीद्वारा गठित वार्ता समितिलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्दै बैठकले निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ ।
पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३१ गते बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।








