काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सदस्यहरूले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले पेस गरेका महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै कार्यतालिकालगायत विषयमा धारणा राखिरहेका छन् ।
केन्द्रीय सदस्य प्रतिमा गौतमले बैठक कहीँ समय अगाडिबाट सुरु भएको जानकारी दिइन् । गत असोज १८ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठक अझै जारी रहेको हो ।
बैठकमा गत मङ्गलवार महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख छ । त्यस्तै सहमहामन्त्री यादवले प्रस्तुत गरेको कार्यतालिकामा १५ औँ महाधिवेशन आगामी वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव छ ।
बैठकमा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनर्स्थापनालगायत समसामयिक विषयमा सदस्यहरूले धारणा राखिरहेका छन् । बैठक अझै केही दिन चल्ने नेताहरू बताउँछन् ।











