काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।
केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।’ महासमितिकाे बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ काे निर्वाचनमा गठबन्धन गर्ने-नगर्ने भन्ने विषयमा केन्द्रित भयाे अहिले केन्द्रीय समितिकाे छलफल विशेष महाधिवेशन कि महाधिवेशन भन्नेमै सीमित भएकाे बताएका छन्।
राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।
उनले भने ‘नवपुस्ताले गत भदाै २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेकाे आन्दाेलन प्रति हामी सहमत छाैं तर २४ गते भएकाे विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिँदैन। सिंहदरबार, सर्वोच्च, संसद्, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने।
०३६ साल, ०४२ साल, ०४६ र ०६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको भन्दै उनले थपे ,’म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैँ आत्मघाती बनेको देख्दा पीडा हुन्छ।’
आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै महतले भने, ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ,’ नुवाकोटको उदाहरण दिँदै उनले भने,’टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे। चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ।’











