काठमाडौँ : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, जुम्ला र तनहुँमा भएको सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
काठमाडौँको शंखरापुर नगरपालिका–१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश–३ ०२–१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भएका ३५ वर्षीय एकबहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनी सो मोटरसाइकलका चालक हुन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित सडकमा रोकी राखेको भे.२ त. १८६८ नम्बरको ट्याक्टरमा भे.७ प २२२२ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पातारासी गाउँपालिका–३ बस्ने ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको छ ।
बिहीबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित सडकमा ग–२३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगरको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।





