काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि सोमबारदेखि शुरू हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त राख्न निर्देशन दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिँदै यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् ।
‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु’, मन्त्री अर्यालले बैठकमा भने । यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ ।
क्यानका सचिव पारस खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए ।





