गण्डकी : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिको खोजी गर्ने क्रममा कास्की प्रहरीले थप दुई जनालाई लुटिएका हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा–२ बस्ने २२ वर्षीय सागर राउतलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार निजहरूका साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र मोबाइल दुई थान बरामद गरिएको छ ।
दुवै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।





