बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई

२०८२ पुष १९, शनिबार

सर्लाही : माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ ।

पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती बगरमा तरुल खेती हुँदै आएको छ । सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो । यहाँ लगभग ५०० हेक्टर क्षेत्रमा वर्षेनी तरुल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताए।

यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालिमाटी तरकारी बजार हुँदै देशका अन्य ठूला सहरसम्म पुग्ने गरेको छ । तरुलले राम्रो बजार पाएको समयमा प्रशस्त आम्दानी लिन सकिने स्थानीय किसानसमेत रहेका सङ्कलन कर्ता रामसुन्दर महतोले बताए । उनका अनुसार गत वर्ष राम्रो मूल्य पाउँदा तरुलबाट प्रसस्त आम्दानी भएको थियो ।

गत वर्ष पुसको अन्तिम साता १०० देखि १२० रुपैयाँ किलोसम्ममा तरुल बिक्री भएको उनले बताए । यस वर्ष पनि राम्रो आम्दानी हुने उनको अपेक्षा छ । कृषि उपजको मूल्यस्थिर नहुने भएकाले बजार जुवाको खाल बन्ने गरेको उनी सुनाउछन् । महतोले अहिले यामको सुरुआत भएकोले प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्ममा तरुल बिक्री गरिरहेको बताए ।

यस वर्ष अन्य पाँच/छ जना साथी मिलेर १५० बिघाको तरुल ठेक्का लिएको उनले सुनाए । यहाँ विशेष गरी पताले र सेतो तरुल उत्पादन गर्ने गरिएको छ । वैशाखमा मकैसँगै लगाएको तरुल मङ्सिरदेखि फागुनसम्म खन्ने गरिन्छ । माघे सङ्क्रान्तिमा अत्यावश्यक फलारको रूपमा प्रयोग हुने तरुलको अन्य समयमा तरकारीको रूपमा ठुलो माग छ ।

बागमती नगरपालिका–५, राजघाटका तरुल किसान हेमबहादुर पुलामीका अनुसार एक कठ्ठा तरुल खेतीको लागि १० देखि १३ हजारसम्म खर्च लाग्छ । मौसम मिलेर राम्रो उत्पादन हुँदा सामान्यतया कठ्ठामा १२ देखि १८ क्विन्टलसम्म तरुल फल्छ । यसरी फलेको तरुलले ७० देखि ८० रुपैयाँ किलो मूल्य पाउँदा पनि लाख बढी आम्दानी हुने उनको अनुमान छ ।

एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने तरुल किसान पुलामीको भनाइ छ । लागत कम हुने उत्पादन धेरै हुने र मूल्य राम्रो पाइने भएकोले आफूले वर्षेनी तरुल खेती गर्ने गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार