तत्कालीन मालपोत अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ माघ ८, बिहीबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेको साविक बेतहनी गाविस वडा नम्बर ४ ‘क’ का जग्गाहरू अपुताली हक नपुग्ने गरी सर्वोच्च अदालतबाट भएको अन्तिम फैसला विपरीत सरजमिन मुचुल्का लगायतका गलत लिखत तयारी गरी अन्य व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले केसीविरुद्ध २२ लाख ४२ हजार ७२० रूपैयाँ, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ, नायब सुब्बा तारा प्रसाद खनालविरुद्ध २२ लाख ४२ हजार ७२० रूपैयाँ बिगो कायम गरेको छ ।

त्यसैगरी, तत्कालीन गाविस सचिव मानबहादुर बोगटीविरुद्ध २२ लाख ४२ हजार ७२० रूपैयाँ, नायब सुब्बा कर्णबहादुर पुनविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ, वडा नम्बर २ का लिलावती कैरातीविरुद्ध २४ लाख ६७ हजार ७२० रूपैयाँ, स्थानीय वीरेन्द्र कुमार कुर्मीविरुद्ध १८ लाख ६२ हजार २५९ रूपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा वीरेन्द्र कुमार कुर्मी, सावित्री देवी कुर्मी र राजिया बेगमको नाउँमा नामसारी गरिएको सरकारी सार्वजनिक कायम हुने जग्गा प्रचलित कानून बमोजिम जफत हुन समेत माग गरिएको छ । सावित्री देवी कुर्मी र राजिया बेगमलाई जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार