सिटिजन्स बैंकको नाफा ३५ करोड ८८ लाख

२०८२ माघ १४, बुधबार

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.४० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ५६ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.८४ प्रतिशतले घटेर २ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि ८.५२ प्रतिशतले घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको सञ्चालन मुनाफा पनि घटेर ५० करोड ४१ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्जकाे लागि बैंकले यस अवधिमा ६४ करोड २० लाख रुपैयाँ छुट्याएको छ।

वितरणयोग्य मुनाफाको अवस्था हेर्दा बैंक निकै दबाबमा देखिएको छ। यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १८ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४१ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा बढेर ४.४६ प्रतिशत पुगेको छ भने बेस रेट ७.३० प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार