काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भएको बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता चालिसेले जनताले चाहेअनुसार सुधार गर्दै स्पष्ट दिशासहित कांग्रेसमा परिवर्तन भएको बताएका हुन् । उनले भने, ‘कांगे्रसलाई जनताको चाहनाअनुसर सुधारेका छौँ, बदलेका छौँ, सच्याएर जनतामाझ ल्याएका छौँ ।’
कांग्रेस एक भएको सन्देश लिएर जनता माँझ गएको प्रवक्ता चालिसेको भनाइ थियो । जनताले अपेक्षा गरेअनुसार कांग्रेस अहिले चुनावी मैदानमा उत्रेको उनले बताए । प्रवक्ता चालिसेले कांग्रेसप्रति जनतामा पुनःविश्वास र प्रेमभाव देखिन थालेको जिकिर गरे ।
निराश भएका नागरिक जागृत भएकाे र अघिल्लो निर्वाचनमा गुमाएको मत फिर्ता आउने संकेत देखिएको उनको भनाई छ ।
नयाँ मतदातामा आशा पलाएको उल्लेख गर्दै उनले जनताको विश्वासलाई आधार बनाएर कांग्रेस देशव्यापी प्रचारमा जुटेको बताए । राजनीतिक दल वा व्यक्तिको अनुहारभन्दा विचार र मुद्दामा आधारित हुने भन्दै उनले वर्तमान तथा भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताए ।





