काठमाडौं : बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले तोकेको सजाय उच्च अदालत विराटनगरबाट सदर भएको छ।
आइतबार न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले गोरेलाई जिल्ला अदालत मोरङले तोकेको सजायलाई नै सदर गरेको सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए।
मोरङ अदालतले गोरेलाई सनमको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र सनमको परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। त्यस्तै, सनमको हत्या अभियोगमा जन्मकैद समेत सुनाएको थियो। अहिले त्यही कसुर सदर भएको हो।









