झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

२०८२ माघ २८, बुधबार

बिर्तामोड : चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल अवधिभर आर्मीले लालीगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।

पोखराका टीकाराज गुरुङ र सुदीप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाएका थिए ।

पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आर्मीले खेलको ७९औँ मिनेटमा विपक्षी पोष्टमा सशक्त आक्रमण गरेको थियो । आर्मीका जर्जप्रिन्सले प्रहार गरेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाएका थिए ।

इन्जुरी समयमा आर्मीले विपक्षी पोस्टमा निरन्तर आक्रमण गर्‍यो । जिलेस्पीजंग कार्कीले डिबक्समा अनमार्क रहेको समयमा गरेको प्रहार महतोले विफल बनाए । लगत्तै जर्जप्रिन्सको हेडर क्रस बारमा लागेर बाहिरियो ।

पोखराले भने पहिलो हाफमा आर्मीमाथि दबाब कायम राखेको थियो । ३०औँ मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले आर्मीका गोलकिपरसँग वान भर्सेस वान गोल गर्न सकेनन् । ७४औँ मिनेटमा टीकाराजले प्रहार गरेको बल गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेलमा अग्रता लिने अवसर पोखराले गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार