सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवम् सुर्खेत १ बाट कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको उद्घोष गरेका छन् ।
कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभाको सम्बोधनका क्रममा उनले यस्तो उद्घोष गरेका हुन् । खड्काले कर्णालीका १० ओटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएकाले सबैमा चुनाव जित्ने दाबी गरे । उनले नेकपा एमाले, नेकपा र रास्वपा लगायतका राजनीतिक दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेको र यो लगत भएको बताए ।
खड्काले भने, ‘हाम्रो पार्टी अहिले एक ढिका भएर चुनावमा होमिएको छ । कुनै समस्या छैन । बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने हल्ला मात्रै हो । यसको पछाडि नलागीकन रूख चिन्हमा भोट हालेर कांग्रेसलाई विजय गराऔँ ।’
उनले आफू सुर्खेत १ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांगेसबाट चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगत २९ वर्षदेखि यातायात व्यवसायीको रूपमा सुर्खेतमा सेवा गर्दै आएका खड्काले यस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस जिताउन सबै नागरिकलाई आग्रह गरे ।
कांग्रेस कर्णालीको सुखदुःखका सारथी खड्काले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि बदलिएर देश बदल्ने हुटहुटीसहित निर्वाचनमा होमिएको कांग्रेसलाई सहयोग गर्नसमेत उनले आग्रह गरे । खड्का कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन् ।










