भिमेसन मन्दिरमा भक्तजनको घुइँचो

२०८२ फाल्गुन १८, सोमबार

भादगाउँ : फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लागेको हो । फागुपूर्णिमाको दिन भिमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ ।

आजको दिन भिमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेहरुले बलिसहितको पूजा चढाउँछन् । आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, लगायतका टोली भिमसेन मन्दिर जाने गर्छन् । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । जसलाई स्थानीय भाषामा भिसिंङ पूजा भन्ने गरिन्छ ।

आजको दिन स्थानीय महिला हाकुपतासीमा सजिएर भिमसेन देवताको पूजापछि समेबजी खाएर एक आपसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ । भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बडेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागुपर्व सम्पन्न हुने परम्परा छ ।

यसरी लिङ बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार