काठमाडौँ : इजरायली रक्षा बल (आईडीएफ) ले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू हमलामा मारिएको दाबी गरेको छ। साथै इरानको राजधानी तेहरानस्थित गुप्तचर मन्त्रालयको मुख्यालयमा पनि आक्रमण गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
आईडीएफले जारी गरेको नयाँ विज्ञप्तिमा इजरायल मामिला हेर्ने इरानी गुप्तचर उपमन्त्री सैयद याह्या हमिदी मारिएको उल्लेख छ। यसैगरी, गुप्तचर मन्त्रालयको जासुसी विभागका प्रमुख जलाल पोर हुसेन र अन्य केही इरानी सत्ताका अधिकारीहरू पनि मारिएको इजरायली सेनाले जनाएको छ।
यद्यपि, ती वरिष्ठ अधिकारीहरूलाई कहिले, कहाँ र कुन तरिकाले मारियो भन्नेबारे आईडीएफले विस्तृत जानकारी दिएको छैन।
यसका साथै, इजरायली सेनाले केही समयअघि मात्र तेहरानस्थित इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा लक्षित गर्दै आक्रमण गरिएको पनि विज्ञप्तिमार्फत दाबी गरेको छ।










