काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनको अघिल्लो दिन देशका १३ ठाउँमा शंकास्पद वस्तु भेटिएको छ भने एक ठाउँमा सुतली बम निष्क्रिय पारिएको छ। निर्वाचनका लागि नेपाल प्रहरीले बनाएको केन्द्रीय प्रहरी परिचालन कक्षका अनुसार, पर्साको वीरगञ्ज नगरपालिका-१६ ईनरुवा गाउँमा सुतली बम भेटिएको हो। सुतली बमलाई भने नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
सुतली बमसहित पर्साको वीरगञ्ज महानगरपालिका-१६ का १९ वर्षीय कृष्ण यादव, १९ वर्षीय रोहित पटेल र १९ वर्षीय अबजित यादवलाई प्रहरीले तत्कालै पक्राउ गरेको हो।
बुधबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ पञ्चमी, कास्कीको पोखरा महानगरपालिका-६ लेकराइड, सुर्खेतको भेरिगंगा नगरपालिका-१० राताचौर, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-२ को वडा एरिया र उदयरपुरको चौदण्डिगढ नगरपालिका-२ लाटीखोलाको पुल नजिक शंकास्पद वस्तु भेटिएको छ।
यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका-१ रातो पुल, काठमाडौँको नागार्जुन नगरपालिका-२ तीनघरे, धनुषाको मिथिला नगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्ग र सर्लाहीको बागमती नगरपालिका-११ हरिहर क्षेत्रस्थित बागमतीदेखि मरिण खोला जाने भित्रि सडकखण्डमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
बुधबार नै बाग्लुङको गलकोट नगरपालिका-७ आगाखेतस्थित मध्यपहाडी लोकमार्गको छेउमा, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैना, मोरङको सुन्दरहरैचा नगरपालिका-१० पूर्व-पश्चिम राजमार्ग र ताप्लेजुङको ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-३ पञ्चमीमा शंकास्पद वस्तु भेटिएको हो।
शंकास्पद वस्तुको भेटिएको ठाउँमा नेपाल प्रहरीसँगै नेपाली सेनाको टोली खटिएको थियो। सेनाको टोलीले निष्क्रिय पार्ने क्रममा शंकास्पद वस्तु राखिएको ठाउँमा विभिन्न सामान भेटिएका थिए।









